समाचार

कपिलवस्तुको अशोकस्तम्भ डुबानमा

asoka stambha

कपिलवस्तु, साउन २ –

कपिलवस्तु नगरपालिका–५ गोटिहवास्थित पुरातात्विकस्थल अशोक स्तम्भ डुबानमा परेको छ । लगातार परेको वर्षाले गर्दा एक महिनादेखि स्तम्भ पानीमा डुबेको छ ।

बलौटे ढुङ्गाको स्तम्भ पानीमा डुब्दा ‘क्यापिलरी एक्सन’ भएर त्यसलाई असर गर्ने पुरातत्वविद्ले बताएका छन् ।

मौर्य सम्राट अशोक रुमिनदेई (रुपन्देही) स्थित शाक्यमुनि बुद्ध जन्मस्थलको तीर्थाटन गर्न आउँदा यहाँ आएका थिए । गोटिहवा सिद्धार्थ गौतम बुद्धभन्दा पहिलेका क्रकुच्छन्द बुद्धको जन्मस्थल र निर्वाणस्थल हो । आजभन्दा एक हजार ७७० वर्षअघि गोटिहवा अस्तित्वमा रहेको पुरातत्वविद्ले बताएका छन् । नेपालमा रहेका तीन अशोक स्तम्भमध्ये गोटिहवाको एक हो ।

लुम्बिनी विकास कोषले संरक्षणमा ध्यान नदिँदा स्तम्भ कमजोर बन्दै गएको छ । स्तम्भ भएका ठाउँमा खाल्टो रहेकाले पानी जमेर ३ फिट डुबेको स्थानीय पत्रकार मनोज श्रीवास्तवले बताउनुभयो । पानी बढी पर्दा स्तम्भ ५ फिट जति डुब्ने गरेको छ । करीब १० फिट ८ इञ्च लामो स्तम्भ एक दशकदेखि डुब्दै आए पनि सरोकार निकायको खासै ध्यान जान सकेको छैन ।

पाँच वर्षअघि तल्लोतिरको ५ फिट बढी भाग मात्र संरक्षण गरिएको थियो । जियोटेक्सटाइल कपडाले बेरेर बालुवाले खाली च्याम्बरलाई पुरी स्तम्भ संरक्षण गरिएको थियो । माथिको भाग खुला छ । हावापानी र घाम तथा धुवाँधुलोको प्रदूषणले स्तम्भलाई थप कमजोर बनाउँदै लगेको छ । वर्षात्मा स्तम्भ दुईतीन महिना पानीमा डुब्ने गर्छ ।

जमीनको सतहसँग बराबर रहेकाले स्तम्भ डुब्ने गरेको हो । पुरातत्व विभागसँग समन्वय गरेर संरक्षणको योजना बनाइँदै गरेको कोष योजना प्रबन्धक सरोज भट्टराईले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस