कैलाली, साउन ३ –
कैलालीको धनगढीमा धारिलो हतियार प्रहार गरी घाइते पारेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट खुकरी र तरवार समेत बरामत भएको प्रहरीले जनाएको छ ।
शुक्रबार राति धनगढी उपमहानगरपालिका –१३ राजपुरका २३ वर्षीय निरज भट्ट र २२ वर्षीय गणेश धामीमाथि धारिलो हतियार प्रहार भएको थियो । घटनामा संलग्न भएको आरोपमा धनगढी –३ का २२ वर्षीय सन्नी नेपाली र वडा नम्बर २ का २२ वर्षीय दिपेन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुलाई स्थानीय बडहर भन्ने स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एबं प्रहरी नायब उपरीक्षक प्रतिक बिस्टले जानकारी दिए ।
उनले पूर्वरिसिइबीका कारण झैझगडा हुँदा हतियार प्रयोग गरेको खुल्न आएको प्रहरीले जनाएको छ । यस्तै अन्य फरार व्यक्तिहरुको समेत खोजतलास भइरहेको प्रहरीको भनाइ छ ।