तेह्रथुम, साउन ५ –
तेह्रथुममा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । तेह्रथुमको लागीगुराँस नगरपालिका–९ सोल्मामा भालु खोलाले बगाउँदा म्याङलुङ नगरपालिका-६ की ३७ वर्षीया अञ्जना लिम्बूको मृत्यु भएको छ भने उनका श्रीमान घाइते भएको प्रत्यक्षदर्शी निरबहादुर लिम्बूले जानकारी दिए ।
सोमबार बिहान आफन्तकोमा जान भनि छथर गाउँपालिकाको सुदाप हिंडेका तीन जनामध्ये दम्पतीलाई दिउँसो १२ बजेतिर एक्कासी माथिबाट आएको खोलाले बगाएको थियो । खोलाले अञ्जनालाई बगाएर करिब ४ सय मिटर तल पुर्याएको र उनका श्रीमान भेषराज लिम्बूले एक सय मिटर तल नपुग्दै बुट्याउन समाउन पाएकाले ज्यान जोगाएका थिए । तर उनी गम्भीर घाइते भएका छन् ।
अविरल वर्षाका कारण खोलमा बाढी आएको र तीनै जनाले एउटा लौरो समाएर पारी तर्ने क्रममा गहिरो भौडीको कारण दुई जना अकस्मात पानीको छालसँगै बगेको र हतार हतार ढुंगा समाउन पाएको कारण आफूलाई खोलाले बगाउन नसकेको अर्का व्यक्ति निरबहादुर लिम्बूले बताएका छन् ।
अञ्जनालाई खोलाले बगाएपछि उनको खोजी गर्दै जाँदा करिब ४ सय मिटर तल खोलाको किनारमा मृत अवस्थामा स्थानीयले भेटाएका थिए । मृतकको पोष्टर्माटमका लागि जिल्ला अस्पताल तेह्रथुम ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।