काठमाडौं, साउन ५ –
नेपालमा सात वटा जिल्ला कोरोनामुक्त भएका छन् । भोजपुर, पाँचथर, धनकुटा, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङमा सक्रिय सङ्क्रमित नरहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आइतबारसम्म ८ जिल्ला संक्रमणमुक्त रहेको भएपनि पछिल्लो २४ घण्टामा हुम्लामा एक जनामा कोरोना संक्रमित पुष्टि भएको छ । मन्त्रालयका अनुसार सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा हुम्लाका एकजनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमकाअनुसार यी सात जिल्लामा एक पटक सङ्क्रमित भेटिए पनि अहिले सबै जना निको भएर घर फर्किएका छन् । यस्तै रौतहट, कैलाली र बाजुरामा पाँच सयभन्दा धेरैका दरले सक्रिय सङ्क्रमित रहेका छन् ।
सोमबार नेपालमा एक सय ८६ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । मन्त्रालयका अनुसार नेपालमा अब सङ्क्रमितको सङ्ख्या १७ हजार आठ सय ४४ पुगेको छ ।
सोमबार कोरोनामुक्त भएर एक सय ७३ जना घर फर्किएका छन् । याेसँगै डिस्चार्ज हुनेकाे कुल सङ्ख्या ११ हजार आठ सय ६८ पुगेकाे छ ।