समाचार

मुग्लिन-नौबिसे सडकखण्ड खोल्न अझै दुई दिन लाग्ने

pahiro palpa

चितवन, साउन ६ –

पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ। सो खण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने गर्दछ । कार्यालयका प्रमुख इञ्जिनियर कृष्णराज अधिकारीका अनुसार आज पनि ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ ।

बिहान मात्र जोगिमारामा ठूलो पहिरो खसेको छ । उनले भने, “मुग्लिङ–नौबिसे सडकखण्डमा मात्र साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । सबैभन्दा बढी समस्या मौवाखोलामा रहेको छ ।”  मौवाखोलामा पानीको बहाव घटेमा ग्याविन जालीमा ढुङ्गा भर्ने तयारीमा रहेको उनले बताए । यसका लागि नुवाकोटबाट जाली मगाइएको छ । बाटो अवरोध भएकाले आइपुग्न समय लाग्ने छ । बेलिब्रिजभन्दा यो सहज र छिटो हुने उनले बताए । स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतसँग आज बिहान छलफल गरी काम अघि बढाइने उनले बताए ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले पानी रोकिएपछि सो सडकखण्ड खुलाउन दुई दिन लाग्ने बताए । “पानी नरोकिएसम्म मौवाखोलामा काम गर्न मिल्दैन । काम थालेपछि दुई दिन हामीलाई लाग्छ”, उनले भने। अन्य खुला रहेका सडक प्रयोग गर्न उनले सुझाव दिए। वैकल्पिक मार्ग प्रयोग गर्नुको विकल्प अहिले नरहेको उनको भनाइ छ ।

यता नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको ठूलो पहिरो पन्छाउन सकिएको छैन । डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियरका शिव खनालका अनुसार पानी केही रोकिएमा पहिरो पन्छाउन शुरू गरिनेछ । काम थालेको चार घण्टामा थप पहिरो र पानी नआएमा चार किलोमा एकतर्फी सडक खोल्न सकिने उनले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस