
सप्तरी, साउन ११ –
सप्तरीका एक जना न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । आज(आईतबार) उच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।
यसअघि उच्च सरकारी वकील कार्यालयका प्रमुखमा पनि कोरोना संक्रमणको पुष्टि भएको थियो । ४३ बर्षीय उनमा तीन दिन अगाडि संक्रमित देखिएको थियो । उनी संक्रमित देखिएपछि सरकारी वकील कार्यालयका साथै अदालतका न्यायाधीश र कर्मचारीको पनि स्वाब संकलन गरिएको थियो । अन्यको रिपोर्ट भने आउन बाँकी छ ।
आइतबार राजविराजस्थित वडा प्रहरी कार्यालयका एक जना २३ बर्षीय जवान पनि संक्रमित देखिएका छन् । त्यस्तै तिरहुत गाउँपालिका–२ का ३९ वर्षीय पुरुष, वडा नम्बर ३ का ३८ बर्षीय, वडा नम्बर ४ का २६ वर्षीय, वडा नम्बर ५ का २८ वर्षका २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख यादवले जानकारी दिए ।
योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ ।