
काठमाडौं, साउन १५ –
विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिलाई ठग्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका–१२ का २६ वर्षीय रमेश कमर छन् ।
उनलाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको बसुन्धाराबाट पक्राउ गरेको हो । महाशाखाका अनुसार उनले चेक रिपब्लिक पठाइदिन्छु भन्दै ११ लाख १३ हजार लिई सम्पर्कविहीन भएका थिए ।
प्रहरीले ठगी गरेको सूचना पाएपछि उनको खोजतलासी थालेको थियो । प्रारम्भिक अनुसन्धानबाट उनले अन्य १५ जना व्यक्तिहरूबाट पनि विभिन्न देश पठाइदिन्छु भनि १८ लाख ठगी सकेको खुलेको छ ।
उनलाई महाशाखाले थप अनुसन्धानका लागि बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौंलाई बुझाएको छ ।
प्रतिक्रिया दिनुहोस