दाङ, असार २३ –
बलात्कृत किशोरीको उमेर दुई वर्ष घटाएर सिफारिस गर्ने दुई वडासचिवसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१ का वडासचिव धनबहादुर केसी, वडा नम्बर १३ का (तत्कालीन वडासचिव) हाल खरिदार लिलाजित नेपाली र सोही वडाका हुकुमबहादुर जि.सी.छन् ।
उनीहरुले जबर्जस्ती करणी मुद्दामा पीडित केटीका बाबुले छोरीलाई न्याय दिलाउन छोरीको उमेर घटाउने कार्यमा सघाएको देखिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
‘’पक्राउ परेका दुई जना वडा सचिवहरुले २०५९ सालको जन्ममिति भएकी पीडित किशोरीलाई उमेर घटाएर २०६१ साल बनाउन सघाएको देखिएकाले पक्राउ गरेका हौं’’, दाङका प्रहरी नायब उपरीक्ष सुमित खड्काले भने ।
अभियुक्त तीन जनालाई जिल्ला अदालतबाट दश दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । जबर्जस्ती करणी मुद्दाका अभियुक्त युवक हाल पुर्पक्षका लागि थुनामा छन् ।
पीडित केटीले उमेर घटाएको तथ्य फेला पारेको दाङ देउखुरी जिल्ला अदालतमा निवेदन दिएपछि अदालतले उपमहानगरपालिकालाई उक्त विषयमा जानकारी दिन पत्राचार गरेको थियो ।
उपमहानगरपालिकाले किशोरीको जन्म २०५९ माघ १२ गते रहेको प्रमाणित गरी पठाएको थियो। पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।