
वीरगञ्ज, साउन १७ –
वीरगञ्जमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । यससँगै पछिल्लो १० दिनमा कोरोना संक्रमणका कारण पर्सामा मृतकको संख्या १० पुगेको छ ।
नारायणी वयोधा अस्पतालमा मृत्यु भएकी वीरगञ्ज-१६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनमा श्वासप्रश्वासमा समस्या देखिएको थियो । मृत्यु हुनु अघि महिलाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।
शुक्रबार अबेर राति आएको रिपोर्टमा मृतक महिलामा कोरोना संक्रमण पोजेटिभ देखाएको नारायणी अस्पतालका डा.निरज सिंहले जानकारी दिए । शुक्रबार राति आएको रिपोर्टमा ६४ जनामा संक्रमण देखिएको र त्यसमध्ये बयोधामा निधन भएकी महिलामा पनि संक्रमण रहेको पुष्टि भएको सिंहले बताए ।
शुक्रबार बिहान मृत्यु भएकी महिलाको शव अहिलेसम्म पनि अस्पतालमा नै रहेको छ । उनको शवको व्यवस्थापन गर्ने तयारी भएको नारायणी अस्पतालका मेसु डा.मदन उपाध्यायले जानकारी दिए । यो सँगै पर्सामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।