
बुटवल, साउन २० –
रूपन्देहीको देवदहस्थित क्वारेन्टिनमा मट्टीतेल खन्याएर आगो लगाएका युवाको मृत्यु भएको छ ।
देवदह नगरपालिका वडा नम्बर ७, शीतलनगरस्थित नेपाल मगर संघको नगर भवनस्थित क्वारेन्टिनमा गार्ड बसेका २४ वर्षीय विपिन बस्यालले आफ्नो शरीरमा आफैंले मट्टितेल खन्याएर आगो लगाएका थिए ।
मंगलबार बिहान करिब ३ बजेतीर मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेको देवदह नगरपालिकाका प्रमुख हिरा खत्रीले जानकारी दिए । शरिरमा आगो लगाएपछि गम्भीर अवस्थामा उद्धार गरिएका उनको देवदह मेडिकल कलेजमा उपचार हुन नसकेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको थियो ।
शरिरको अधिकांश भाग जलेको कारण उनको उपचारको क्रममा विहान ९ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक नविन चुंदालीले जानकारी दिए ।
उनले आफ्नै शरिरमा किन आगो लगाएका हुन् भन्ने खुल्न नसकेको र घटनाको अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ ।