
बुटवल, साउन २१ –
बुटवलको वडा नं ११ योगिकुटी देखि वडा नं ६ को कृषि थोक बजार उपजकेन्द्रसम्म निर्माणाधीन रहेको कालिकापथ सडक विस्तारको क्रममा अवरोध गरिएका घरहरू बुधबार बिहानै भत्काइएको छ ।
सडक ओगटेर बनेका संरचना हटाउन घरधनीलाई आग्रह गरिए पनि अटेरी गरेको भन्दै उपमहानगरपालिकाले बुधबार बिहानै डोजर पठाएर घर भत्काएको हो । उक्त सडक ८२ फिट फराकिलो बनाइँदै छ । उपमहानगरले सडक मिचेका घर भत्काउन घरधनीहरूलाई साउन १९ गते २४ घण्टाको म्याद दिएको थियो ।
म्यादभित्र कसैले पनि घर नभत्काएपछि प्रहरीको सुरक्षामा डोजर चलाउनुपरेको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । कालिकापथलाई उपमहानगरपालिकाले वैकल्पिक सडकका रूपमा विस्तार गर्ने योजना बनाएको छ ।
बुटवल उपमहानगरपालिकाले यो सडकलाई नमूना बनाउने जनाएको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा यो सडक विस्तारको काम सम्पन्न गर्न ३ वर्ष लाग्ने र झण्डै १ अर्ब खर्च हुने उल्लेख छ ।