काठमाडौं, साउन २२ –
सरकारले तत्काल लकडाउन नगर्ने भएको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता युवराज खतिवडाले सरकार तत्काल लकडाउन गर्ने मनस्थितीमा नरहेको जानकारी दिएका हुन् ।
उनले ठाउँ-ठाउँमा लकडाउन भएको देखिए पनि चैत ११ गते जारी भएको जस्तो मुलुकभर लकडाउन नहुने बताए। यद्यपी संक्रमणको जोखिम हेरेर ती ठाउँहरूमा भने लकडाउन गर्न सकिने उनले जनाए ।
‘अहिले पनि दुई दर्जन बढी स्थानीय तहहरूमा लकडाउन गरिएको छ । संक्रमणको जोखिम हेरेर जिल्ला प्रशासनहरूले लकडाउन गर्नसक्छ तर पहिले जस्तो देशभर लकडाउन गर्ने कुरा तत्काल छैन,’ उनले भने ।
त्यस्तै मन्त्री डा. खतिवडाले लामो दुरीका यातायात र आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानहरु, विद्यालय खुल्ने अवस्था बनिनसकेको बताए । सरकारले भदौ १ गतेदेखि लामो दूरीका यातायात तथा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरेपनि अर्थमन्त्री खतिवडाले पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले त्यसबारे पुनर्विचार गर्न सकिने बताए ।