झापा, साउन २३ –
जंगली हात्तीको आक्रमणबाट झापाको कमल गाउँपालिकामा गए राति एक जनाको मृत्यु भएको छ । कमल गाउँपालिका-५ स्थित टुक्रेका ५८ वर्षीय रोहित रेग्मीको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक भवनबाबु खड्काले जानकारी दिए ।
राति करिब २ बजेतिर नजिकैको रतुवा माई जंगलबाट आएका दुई हात्तीले घरभित्र सुतिरहेको बेला रेग्मीलाई आक्रमण गरेको हो । उनी परिवारसहित बस्दै आएका थिए । छाप्रामा एक्कासी हात्तीले आक्रमण गरेपछि ज्यान बचाउन भागेका रेग्मीलाई हात्तीले लखेटेर मारेको अवस्थामा शव भेटिएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।
रेग्मीका श्रीमती र नातिनीले भने भागेर ज्यान जोगाएक छन् । सशस्त्र प्रहरीको जग्गामा छाप्रो बनाएर बसोबास गर्दै आएका रेग्मीलाई छाप्रोबाट केही पर हात्तीले कुल्चिएर मारेको पाइएको छ । रेग्मीलाई आत्रमण गर्ने हात्तीलाई राति नै स्थानीयवासीले जंगलतर्फ धपाएका कमल-५ का वडाध्यक्ष डम्बरबहादुर निरौलाले बताए ।