दाङ, साउन २३ –
जिल्ला समन्वय समिति दाङको जिल्ला सभाले लमही–घोराही–तुलसीपुर सडक खण्डको नाम फेरिएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला सभाले उक्त सडक खण्डको नयाँ नामाकरण गरेको हो । उक्त सडकखण्डको नाम अबदेखि गोरक्ष मार्ग राख्ने सर्वसम्मत प्रस्ताव पारित भएको छ ।
जिल्ला सभाबाट पारित उक्त निर्णय कार्यान्वयनका लागि पठाउने निर्णय गरिएको जिल्ला समन्वय समिति दाङका सभापति जितेन्द्रमान नेपालीले बताए । उनले दाङका दशवटै स्थानीय तहका प्रमुख, उपप्रमुखससहित समन्वय समितिका पदाधिकारी, राजनीतिक दलका अगुवाहरुसहित सरोकारवालाहरुको सहभागितामा भएको जिल्ला सभाले सर्वसम्मत निर्णय गरेको बताए ।
यद्यपि, पूर्व माओवादी पक्षले भने सो सडकखण्डलाई मन्त्रिपरिषदको निर्णयबाट यसअघि नै कृष्णसेन इच्छुक मार्ग राखिसकेकोले नयाँ नामाकरण गरेर प्रतिगागी निर्णय गरिएको आरोप लगाएका छन् । उनीहरुले उक्त निर्णय सच्याउन सामाजिक सञ्जालमार्फत समेत आग्रह गरिरहेका छन् ।