
कालिकोट, साउन २४ –
जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जगधिश शाही पूर्पक्षका लागि जेल चलान भएका छन् । किशोरीलाई बलात्कार आरोमा पक्राउ परेका ५१ वर्षीय शाहीलाई जिल्ला अदालत कालिकोटले कारागार चलान गर्ने निर्णय गरेको हो ।
जबरजस्तीकरणी मुद्दामा प्रमाण बुझ्न समय लाग्ने भएकाले अदालतबाट पूर्ण फैसला नभएसम्म वडाध्यक्ष शाहीलाई कारागार चलान गरिएको जिल्ला अदालतका श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिए । वडाध्यक्ष शाहीमाथि बहिनी नाता पर्ने १६ वर्षीया किशोरीमाथि पटकपटक बलात्कार गरेको आरोप लागेको थियो ।
वडाध्यक्ष शाहीले ती महिलालाई २०७४ सालमा आफ्नो घरमा लगी बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ । ती किशोरीलाई वडाध्यक्ष शाहीले विभिन्न बहानामा धम्काएर बलात्कार तथा यौनहिंसा गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको एक प्रहरी अधिकृतले बताए ।
शाहीविरुद्ध मुलुकी अपराध संहिता २०७४ बमोजिम जबरजस्ती करणी कसुरमा १२ देखि १४ वर्ष कैद र हाड नाता करणी १ देखि ३ वर्षसम्म कैदसहित उचित क्षतिपूर्ति माग दाबी प्रहरीले अदालतमा मुद्दा पेश गरेको छ ।