
२५ साउन, काठमाडौं । आर्थिक वर्ष २०७६/७७ मा नेपाल बैंक लिमिटेडले २ अर्ब ५५ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । कोभिड १९ कारण पछिल्लो त्राइमासमा व्यवसाय प्रभावित भएपछि अघिल्लो वर्षको तुलनामा केही नाफा खुम्चिएको बैंकले जानकारी गराएको छ ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यो खुद नाफा अघिल्लो वर्षको तुलनामा ४ करोड न्यून हो । बैंकको वितरणयोग्या नाफा २ अर्ब २१ करोड रुपैयाँमात्र रहेको छ । बैंकको खुद मुनाफाबाट बैंकले गर्नुपर्ने अनिवार्य खर्च तथा संचिति कटाएर यस्तो वितरणयोग्य नाफा तय हुन्छ ।
गएको वर्ष बैंकले खुद ब्याज आम्दानी ५ अर्ब ६१ करोड गरेको छ। यो अघिल्लो वर्षको तुलनामा न्यून हो । अघिल्लो वर्ष बैंकको यस्तो आम्दानी ६ अर्ब १८ करोड रुपैयाँ थियो । बैंकले ब्याज आम्दानी बाहेक शुल्क तथा कमिसनबाट गर्ने आम्दानीमा पनि सामन्य गिरावट आएको छ ।
अघिल्लो वर्षको यही अवधिमा ९९ करोड ३९ लाख आम्दानी गरेको बैंकले यो शिर्षकमा यो वर्ष ७४ करोड ४५ लाखमात्र आर्जन गरेको छ । बैंकको सञ्चालन आय पनि अघिल्लो वर्षको तुलनामा घटेको छ । अघिल्लो वरष ७ अर्ब २५ करोड सञ्चालन आय गरेको बैंकले गएको वर्ष ६ अर्ब ६० करोडमात्र रहेको छ ।
सञ्चालन आय घटेपनि सञ्चालन खर्च अघिल्लो वर्षको तुलनामा बढेको छ । आय घटेर खर्च बढेपछि सञ्चालन नाफामा गिरावट आएको छ । झन्डै २ अर्बले सञ्चालन मुनाफा घटेको छ । बैंकले गएको वर्ष १ खर्ब ४२ अर्ब निक्षेप संकलन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २५ अर्बले बढी हो । त्यस्तै बैंकले गएको वर्ष १ खर्ब ४ अर्ब ऋण लगानी गरेको छ। यो अघिल्लो वर्षको तुलनामा १२ अर्ब बढी हो।
बैंकको खराब कर्जा भने केही घटेको छ । अघिल्लो वर्षको अन्तमा २.६४ प्रतिशत रहेको यस्तो भाखा नाघेको कर्जा यो वर्ष भने २.५९ प्रतिशत छ । ११ अर्ब २८ करोड सेयर पुँजी भएको बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ६६ पैसा रहेको छ । शेयरको बजार मूल्य २४९ रुपैयाँ रहेको छ ।