
२५ साउन, जनकपुरधाम । कोरोना जोखिम कायमै रहेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले लगाएको निषेधाज्ञा पुनः एकसातको लागि थपेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले उपमहानगरपालिका क्षेत्रमा कोरोनाको जोखिम बढ्दै गएको र समुदाय स्तरमा फैलिएकोले निषेधाज्ञाको समयअवधि साउन ३२ गते आइतबार राति १२ बजेसम्मका लागि थपिएको जानकारी दिए ।
कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्लाभरी प्रतिकुल प्रभाव पर्नसक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा र स्थलहरु फेरि आगामी ७ दिनसम्मका लागि स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णयअनुसार निषेधाज्ञा गरिएको प्रजिअ भट्टराईले स्पष्ट पारे ।
सुरक्षा समितिको बैठकबाट सात दिन अझै लकडाउन थप्ने निर्णय गर्नुका साथै जनकपुरधामस्थित यात्री निवासलाई क्वारेन्टाइन स्थल बनाउने र जिल्लामा आइसोलेसन सेन्टरहरु अझै थप गर्ने तथा बैंक र वित्तिय संस्थाहरू सिफ्टवाइज खोल्ने निर्णय समेत गरिएको छ।