समाचार

सिरहा नगरपालिका कार्यालयमा अख्तियारको छापा, केमा खर्च भयो ५ करोड ९० लाख ?

siraha nagarpalika

२५ साउन, सिरहा । सिरहा नगरपालिकाले कोरोना नियन्त्रण तथा रोकथाममा खर्च गरेको रकमको कागजात अख्तियारले छानविनका लागि नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको अधिकृत नवराज सुवेदी नेतृत्वको टोलीले कोभिड १९ रोकथाम, नियन्त्रणमा खरिद सम्बन्धी कागजातको प्रतिलिपि छानबिनको लागि नियन्त्रणमा लिएको हो ।

सिरहा नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा गरेको खर्च विवरणमा अनियमितता भएको जनगुनासो आएपछि आयोगको टोलीले छानविन सुरु गरेको हो ।

नगरपालिकाले कोभिड नियन्त्रणका लागि ५ करोड ९० लाख ८६ हजार रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेको थियो । उक्त विवरणमा केही सामग्रीको मूल्य बजार भन्दा अधिक रहेको भेटिएपछि अख्तियारको टोलीले नगरपालिकामा छापा मारेको हो ।

के केमा खर्च भयो ५ करोड ९० लाख ?

सिरहा नगरपालिकाले मास्क खरिदमा २० लाख २ हजार ९ सय ९७, थर्मगन १५ हजार ७ सय ५३, ग्लब्समा ६ लाख ८८ हजार ८ सय, सेनिटाइजर १४ लाख १ हजार ९७, सावुन १ लाख ७२ हजार १ सय ९५, पीपीई ९ लाख १८ हजार ४ सय ९१, किटनाशक औषधि छर्कने स्प्रे ५ हजार, रेनकोट १ लाख ९३ हजार रुपैयाँको खरिद गरेको देखाएको छ ।

यस्तै, रेनबुट ३ लाख १२ हजार १ सय ५०, डस्ना ४ लाख ५५ हजार ८ सय ५०, बेड २ लाख ५९ हजार ४ सय, झुल सुपानेट ३ लाख ३० हजार, तन्ना ४ लाख ५० हजार ३७७.५, तकिया २ लाख ८ हजार ९ सय ५०, तकिया खोल ३१ हजार ९ सय २७, कम्बल ४ लाख २४ हजार ५ सय ७५, स्प्रीट २ हजार ६ सय रुपैयाँको खर्च विवरण दिएको छ ।

विद्युतिय सामाग्री ६ लाख ५६ हजार ६ सय २५, खानेपानी धारा सामाग्री खरिद २ लाख ५८ हजार ६ सय ५१, फलामे खाट ११ लाख ९४ हजार ६ सय ८५, किटनाशक औषधि छर्किने स्प्रे ठूलो १ लाख ४९ हजार ७ सय २५, क्वारेन्टाइन बस्नेको खाना, नास्ता र चिया ३१ लाख ८३ हजार ५ सय, जोखिम भता ४१ लाख २५ हजार ८३०, लामखुट्टे औषधि खरिद तथा छर्किने कार्य १६ लाख २९ हजार ९३६ र सरसफाई १७ लाख ५० हजार खर्च गरेका छन् ।

यस्तै वडा नम्बर १ देखि २२ सम्म राहत वितरणमा २ करोड ७७ लाख ७९ हजार ४ सय, वडा १ देखि २२ सम्म माक्स, सेनिटाइजर, साबुन, ग्लोव्स वितरणमा १ करोड ४ लाख ८४ हजार ९ सय १६ खर्च रहेको विवरण सार्वजनि गरेको छ । सिरहा नगरपालिकाका मेयर अशेश्वर प्रसाद यादवले नियम प्रक्रिया मिलाएर खर्च र भुक्तानी भएको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस