२६ साउन, काठमाडौं । बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विवाह गर्छु भनिेर ललाई फकाई गरी जबरजस्ती बलात्कार गरेरधनमाल समेत ठगी गरी फरार भएका थिए ।
प्रहरी उक्त घटनामा संलग्न रहेको आरोपमा चन्द्रागिरि नगरपालिका–६ बस्ने धादिङ सिद्धलेख गाउँपालिका–७ का ३० वर्षीय राजन बिश्वकर्मा भन्ने राजन सेन्चुरीलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत थानकोटबाट खटिएको प्रहरीले काठमाडौं चन्द्रागिरी नगरपालिका ६ थानकोट चेकपोष्टबाट उनलाई पक्राउ गरेको हो । घटनाको अनुसन्धान गर्ने क्रममा राजनले महिलालाई केही महिना अगाडि फोन गरी आफ्नो नाम राजन श्रेष्ठ बताइ भेटघाट गर्न बोलाएको र भेटघाटमा आफू अविवाहित पुरुष भएको बताएका थिए ।
प्रहरीका अनुसार भेटघाटमा राजनले विवाह गर्न राखेको प्रस्ताव स्वीकार गरी उनीहरुले प्रेम विवाह गरेर साउन १६ गते देखि २१ गतेसम्म थानकोट चेकपोष्टस्थित डेराकोठामा बसेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
यस्तै साउन २२ गते राजनलाई कोठामा नदेखि खोजी गर्दा दराजमा राखेको नगद २ लाख रुपैयाँ, १ तोला बराबरको सुनको सिक्री, १ तोला बराबरको सुनको रिङ र १ थान मोबाइल राखेको स्थानमा नभएको तथा निज राजन सम्पर्क विहीन भएका थिए ।
राजन उपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम जबरजस्ती करणी तथा ठगी कसूरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत थानकोटले जनाएको छ ।