२७ साउन, काठमाडौं । सरकारले उपत्यका सहित २०० भन्दा बढी सक्रिय कोरोना संक्रमित भएका जिल्लामा ‘वर्क फ्रम होम’ को नियम लागू गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी, गैर सरकारी तथा बैंक तथा सेवा प्रवाह गर्ने निकायलाई वर्क फर्म होमको व्यवस्था मिलाउन निर्देशन दिने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
‘सरकारी र गैर सरकारी कार्यालय, बैंक तथा बैंकिङ सेवा प्रवाह गर्ने निकायले विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने, बढीमा ५० प्रतिशत कर्मचारी उपस्थित हुने व्यवस्था मिलाउने र वर्क फर्म होमको व्यवस्था मिलाउने निर्णय भएको छ,’ सोमवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन मंगलवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता खतिवडाले भने ।
सरकारले बढी जनसम्पर्क हुने कार्यालय अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गर्ने पनि निर्णय गरेको छ ।