२७ साउन, काठमाडौं । बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले आर्थिक प्रलोभनमा पर्ने ६ जना प्रहरीलाई निलम्बन गरेको छ । प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थामा उनीहरुलाई साउन २१ गते नियन्त्रणमा लिएको थियो ।
प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत प्रहरी निरीक्षक रोशन थापाका अनुुुसार जिल्ला प्रहरी कार्यालय सिन्धुलीका ५ जना र जिल्ला प्रहरी कार्यालय काभ्रेका एक जना गरेर ६ जना निलम्बनमा परेका हुन् । निलम्बनमा पर्ने २ हवल्दार र चार प्रहरी जवान रहेका छन् ।
निलम्बनमा पर्नेमा हवल्दारद्वय राजकुमार श्रेष्ठ र डोरबहादुर कार्की तथा प्रहरी जवानहरु कुमारबाबु सिंह, धिरेन्द्र साह, रामकुमार थापा, नवीनबहादुर थापा छन् । नवीन थापा काभ्रेस्थित इलाका प्रहरी कार्यालय मंगलटारमा कार्यरत थिए ।
सवारी चालकसँग विभिन्न वहानामा रकम लिएको भेटिएपछि नियन्त्रणमा लिएर उनीहरुलाई प्रदेश प्रहरी कार्यालयमा झिकाइएको थियो । थप छानबिन गर्नका लागि उनीहरुलाई निलम्बन गरिएको बागमती प्रदेशका प्रमुख वसन्त लामाले बताए ।
निलम्बन गरिएका प्रहरीहरुको सम्बन्धमा थप छानविन गर्न प्रदेश प्रहरी कार्यालयले प्रहरी नायव उपरीक्षक विज्ञान बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली पनि गठन गरेको छ ।