
२७ साउन, काठमाडौं । सरकारले दैनिक रुपमा अधिकतम् ५ सय जनासम्मलाई मात्रै उद्धार गरेर विदेशबाट ल्याउने निर्णय गरेको छ ।
कोरोना भाइरस फैलन थालेपछि सरकारले विदेशस्थित कूटनीतिक नियोगको सिफारिसमा ३ सय र वैदेशिक रोजागर कल्याणकारी कोषबाट खर्च व्यहोर्ने गरि २ सय जना गरेर जम्मा ५ सय जनालाई मात्रै उद्धार गर्ने भएको हो ।
श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेका अनुसार विदेशबाट आउने नेपालीलाई अब उपत्यकामा क्वारेन्टिन गरिनेछ । क्वारेन्टिनमा बसेको ५ देखि ७ दिनभित्र पीसीआर टेष्ट गर्ने र संक्रमण नदेखिए मात्र सम्बन्धित गन्तव्यमा पठाइनेछ ।
अहिले विभिन्न देशमा ठूलो संख्यमा नेपालीहरु नियमित फ्लाइट कुरिरहेका छन् । चार्टर्ड फ्लाइट मँहगो भएर फर्किन नसक्नेहरुलाई सरकारले उद्धार गर्न सुरु गरेलगत्तै तोकिएकै दैनिक कोटाले समस्या गर्ने दूतावासका अधिकारीहरु बताउँछन् ।
कोटा तोक्दा विमान कम्पनीलाई पनि व्यवसायिक रुपमा सम्भव हुने यात्रु संख्या पुर्याएर विदेशबाट नेपाली फर्काउन समस्या हुने देखिएको छ । यसले गर्दा विदेशमा समस्यामा परेका नेपाली अझै पीडित हुने अवस्था देखिएको छ ।