
२८ साउन, बुटवल । कपिलवस्तुको कृष्णनगरमा भारतबाट अवैध रुपमा भित्राइएको २४ लाख ५० हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३९ राजश्व भन्सार सुरक्षा गुल्मको टोलीले बुधबार बिहान सो रकम बरामद गरेको हो ।
भारतीय सीमाबाट झोलामा सेनेटाइज र औषधीको पोकाभित्र ल्याएको रकम प्रहरीले बरामद गरेपछि रकम बोक्ने व्यक्ति भारततिरै फरार भएको सशस्त प्रहरी उपरीक्षक ध्रुव थापाले बताएका छन् ।
दशगजा भन्दा ५० मिटर भित्र नेपाली भूभागमा ती व्यक्तिको झोला चेकजाँच गरिएको थियो । सुरुमा झोला खोल्दा ती व्यक्तिले सेनेटाइजर र औषधी रहेको बताएर सशस्त्रको गस्ती टोलीलाई झुक्याउन खोजेका थिए । पछि शंका लागेर झोला खोली हेर्दा अवैध रकम फेला परेपछि ती व्यक्ति भागेको प्रहरीले दाबी गरेको छ ।
बरामद गरिएको रकममा भारु ५ सय दरका ४९ वटा गड्डी (३९ लाख २० हजार रुपैयाँ) रहेको शाहीले बताए । बरामद रकम आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालयमा बुझाइने उनले बताए ।