
२८ साउन, जनकपुरधाम । महोत्तरीमा दाह संस्कारपछि एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । महोत्तरीको मठियानी नगरपालिका वडा नं ६ का ४५ वर्षीय पुरुषको दाह संस्कारपछि कोरोना संक्रमण पुष्टि भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद कटुवालले बताए ।
मधुमेह र फोक्सोका रोगी रहेका संक्रमित पुरुषको उपचारको क्रममा २ दिन पहिला जनकपुरधामको जानकी हेल्थ केयरमा मृत्यु भएको थियो । मृत्यु पछि स्वाब लिएर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिए ।
मृत्युपछि अन्तिम संस्कारसमेत गरिसकिएको अवस्थामा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ्गको काम सुरु गरिएको मेयर मण्डलले जानकारी दिए । उनका अनुसार पहिलो कन्ट्याक्टमा उनको सम्पर्कमा देखिएका १५ जनाको स्वाब संकलन गरिएको छ । अन्य कन्ट्याक्ट ट्रेसिङ्ग गर्ने काम भइरहेको उनले बताए ।
मृतक पुरुषको ५६ जना मलामी गएका थिए । मलामी गएका ५६ जनालाई होम क्वारेन्टिनमा राखिएको प्रमुख जिल्ला अधिकारी कटुवालले बताए ।