
२९ साउन, काठमाडौं । प्रेस काउन्सिल नेपालले माउन्टेन टेलिभिजनलाई कालोसूचीमा राखेको छ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको चरित्र हत्या गर्ने गरी समाचार सामाग्री प्रसारण गरेको र पटक पटक काउन्सिलको निर्देशनलाई अवज्ञा गर्दै जालसाँझी र झुठा विवरण पेस गरेको भन्दै काउन्सिलले उक्त टेलिभिजनलाई कालो सूचीमा राखेको हो ।
भट्टराईका प्रेस सल्लाहकार विश्वदिप पाण्डेको तर्फबाट साउन २ गते दर्ता भएको उजुरीका आधारमा काउन्सिलले छानबिन गरेको हो । छानबिनमा एकोहोरो, अशिष्ट एवम् अमर्यादित रुपमा सार्वजनिक शिष्टाचार र व्यक्तिको मर्यादामा प्रतिकूल असर पर्ने गरी सम्प्रेषण गरेको पाइएको छ ।
उक्त सामग्री पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन, २०७६ं प्रतिकूल सामाग्री के, कसरी सम्प्रेषण हुन गएको हो ? भनी काउन्सिलले उक्त टेलिभिजनलाई स्पष्टीकरण सोधेको थियो । उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै फेरि उजुरीकर्ताले लिखित प्रतिक्रिया पेस गरेका थिए । काउन्सिलले पटक–पटक स्पष्टीकरण पेस गर्न दिएको निर्देशन माउन्टेन टिभीले अवज्ञा गरेपछि काउन्सिलले २४ घण्टाभित्र क्षमायाचना सन्देश प्रसारण गर्न पुनः निर्देशन दिएको जनाएको छ ।
प्रसारण गरिएको उक्त क्षमायाचना सन्देश नक्कली भएको आरोप समेत लगाएको छ । उक्त क्षमायाचना सन्देश टिभीमा प्रसारण नगरी काउन्सिलमा मात्र उपलव्ध गराई पटक पटक काउन्सिलको निर्देशनलाई अवज्ञा तथा जालसाँझी गरी झुठा विवरण पेश गरेको आरोप लगाउँदै काउन्सिलले उक्त टिभीलाई पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६)को दफा ७(१) (ज) बमोजिम कालोसूचीमा राखिएको जनाइएको छ ।