३० साउन, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नाममा ठगी गर्न खोज्ने एक पत्रकार पक्राउ परेका छन् । धादिङ घर भई काठमाडौं बस्दै आएका र आफूलाई आलोचना साप्ताहिकको पत्रकार बताउने शंकरप्रसाद अधिकारीलाई सीआईबीले पक्राउ गरेको हो ।
अधिकारीले काठमाडौँका एक व्यवसायीलाई डरधम्की देखाई ठगी गर्न खोजेको अनुसन्धानबाट खुलेको सीआईबीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुल थापाले जानकारी दिए ।
अधिकारीले ‘अख्तियारमा मुद्दा परेको छ, उक्त मुद्दा सदर भई पक्राउको लागि सीआईबीमा पत्राचार भएको छ । मुद्दा हेर्ने सीआईबीका इन्सपेक्टरले ५ लाख रुपैयाँ दिएमा मुद्दा ढुस (रद्द) बनाउने नत्र कुनै पनि समयमा तपाईंलाई प्रहरीले पक्राउ गर्छ’ भनी, डर त्रास देखाइ, धम्क्याइ, सीआईबीको नाममा रकम असूल गरी ठगी गर्न खोजेको,’ भन्दै अधिकारीलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
अधिकारीले विभिन्न बहानामा अन्य व्यक्तिहरुलाई ठगी गरेको हुनसक्ने प्रहरीले जनाएको छ । आवश्यक कारबाहीको लागि अधिकारीलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाइएको थापाले बताए ।