समाचार

सरुवा भएर खोटाङ आएका ६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

covid 19

३१ साउन, खोटाङ ।  विराटनगरबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय खोटाङ आएका ६ जना प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मोरङस्थित पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय रानी, विराटनगरबाट गत साउन २३ गते सरुवा भएर खोटाङ कार्यक्षेत्र बनाई आएका ११ जना प्रहरी जवानमध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सरुवा भएर खोटाङ आएका सबै प्रहरी जवान क्वारेन्टाइनमा रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए । ‘सरुवा भएर खोटाङ आएलगत्तै उनीहरु सबै जनालाई जिल्ला प्रहरी कार्यालयमै निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ’, उनले भने ।

संक्रमित हुने प्रहरी जवानमा २३ र २५ वर्षीय दुई/दुई तथा २० र २१ वर्षीय एक/एक जना पुरुष रहेका छन् । संक्रमित सबैलाई जिल्ला अस्पताल खोटाङमा निर्माण गरिएको आइसोलेसन वार्डमा राखेर उपचार गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी शालीग्राम शर्मा पौडेलले जानकारी दिए ।

कोरोना संक्रमण पुष्टि भएका सबै जना क्वारेन्टाइनमै रहेकाले उच्च सतर्कता अपनाउँदै दैनिक कामकाजलाई समेत निरन्तरता दिइने जानकारी दिइएको छ । जिल्ला बाहिरबाट सरुवा भएर आएकालाई पीसीआर परीक्षण गरेर मात्र ड्युटीमा खटाउने गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द शाहले बताए ।

दश स्थानीय तह रहेको जिल्लामा ६ जना प्रहरीसहित संक्रमित हुनेको संख्या १९ पुगेको छ । यसअघि संक्रमण देखिएका १२ जना उपचारपछि घर फर्किसकेका छन् भने दिप्रुङ चुइचुम्मा गाउँपालिकाका एक जना संक्रमित उपचाररत रहेका छन् ।

जिल्लामा भेटिएका संक्रमित सबै बाहिरी देश तथा छिमेकी जिल्लाबाट भित्रिएका मात्र रहेका छन् । वैदेशिक रोजगारीका क्रममा विभिन्न देश तथा छिमेकी जिल्लाबाट आउने जिल्लावासीलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्नुका साथै पीसीआर रिपोर्ट नेगेटिभ आएपछि मात्र घर पठाउने गरिएको छ ।

यसैबीच जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय खोटाङले जिल्लास्थित सबै हाटबजार बन्द गराएको छ । बन्दाबन्दी हटेसँगै भाइरस संक्रमणको जोखिमसमेत बढेको भन्दै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रवार बसेको बैठकको निर्णयानुसार प्रशासनले जिल्लाका विभिन्न स्थानमा लाग्ने हाटबजार बन्द गराएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस