
१ भदौ, काठमाडौं । भारतीय शास्त्रीय संगीतका मुर्धन्य गायक पण्डित जसराजको निधन भएको छ ।
उनको निधन अमेरिकाको न्युजर्सीमा भएको हो । ९० वर्षीय जसराजको सोमबार बिहान ५ बजेर १५ मिनेट जाँदा निधन भएको उनकी छोरी दुर्गा जसराजले जानकारी दिएकी छिन् ।
उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गर्दै भनेका छन्, ‘उनको निधनले भारतीय शास्त्रीय सङ्गीतमा अपूरणीय क्षति पुगेको छ । उनको सङ्गीत आफैमा उत्कृष्ट थियो । कैयौँ गायकका लागि एक असाधारण गुरुको रुपमा उनले आफ्नो पहिचान बनाएका थिए । उनको परिवार र प्रशंसकलाई मेरो समवेदना छ ।’
भारतीय शास्त्रीय संगीतको क्षेत्रमा उनको महत्वपूर्ण योगदान रहेको छ । गायक जसराज पण्डित विशेषतः आफ्नो गाउने शैलीका कारण पनि चर्चित थिए । उनी झण्डै आठ दशक गायकीमा सक्रिय थिए ।
प्रतिक्रिया दिनुहोस