
२ भदौ, बुटवल । जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा नौबहिनी गाउँपालिका–६ लुङढाखोलाका एकै घरका दुई दाजुभाइको मृत्यु भएको छ । ३ जना बिरामी परेका छन् ।
१५ वर्षीय सुरेश र १३ वर्षीय सुगम घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । नीहरूका बुबा ३५ वर्षीय विष्णु, आमा ३४ वर्षीय लीला र दाजु १७ वर्षीय शशि घर्ती बिरामी परेका छन् । बिरामीको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।
साउन ३१ गते साँझ जंगलबाट टिपेर ल्याएको च्याउ खाएपछि पखाला लागेर बिरामी भएका दाजुभाइको सोमबार राति घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डीएसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए । घर–परिवारले ढिलो गरी खबर गरेकाले सयममै बिरामीलाई अस्पताल ल्याउन नसकिएको उनले बताए । कार्कीका अनुसार उनीहरूलाई सोमबार राति जिल्ला अस्पताल बिजुवार पुर्याइएको छ । बिरामी ३ जनाको अवस्था सुधारोन्मुख रहेको चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
लुङ स्वास्थ्य चौकी प्रमुख गोविन्द केसीले बिरामी भएको खबर पाएलगत्तै घरमा पुग्दा दाजुभाइको मृत्यु भइसकेको बताए । ‘च्याउ खाएकै साँझबाट विरामी परेका रहेछन,’ उनले भने, ‘तर सयमै परिवारले कसैलाई पनि जानकारी गराएनन् ।’