समाचार

कास्कीमा आज रातिदेखि निषेधाज्ञा, चाडवाडमा हिँडडुल गर्न नपाइने

CDO Office Kaski

२ भदौ, पोखरा । कास्की जिल्लामा आज राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्लास्तरीय कोरोना रोकथाम नियन्त्रण र व्यवस्थापन समितिको निर्णयपछि सुरक्षा समितिको बैठक बसेर आजदेखि ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

विज्ञहरुसँगको छलफलपछि पोखरा महानगरपालिकाले प्रदेशको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा निषेधाज्ञा जारी गर्न सिफारिस गरेको थियो । सोमबार बसेको सीसीएमसीको बैठकले स्थानीय सरकारको समन्वयमा जिल्ला प्रशासन कार्यालयलाई आवश्यकताअनुसार निषेधाज्ञा जारी गर्न अनुमति दिएको थियो ।

मंगलबार बिहान बसेको बैठकले पोखरासहित कास्की जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए ।

‘महानगरको सिफारिस अनुसार नै पाँच दिनका लागि निषेधाज्ञा जारी गरिएको छ,’ उनले भने, ‘यस अवधिमा अत्यावश्यकबाहेक अरू गतिविधि नगर्न आग्रह गरिएको छ ।’

नजिकिँदै गरेको चाडपर्वका अवसरमा हुने जमघट र कार्यक्रमहरू गर्न नदिनसमेत रोक लगाउने भएको छ । नजिकिँदै गरेको कुशे औंशी अर्थात् बुबाको मुख हेर्ने दिन, ऋषि पञ्चमी, तीजलगायत चाडपर्व मनाउन मानिसकको आवत जावत रोक्न पनि निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था आएको प्रशासनले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस