समाचार

म्युजिक भिडियोमा देखाउन जलाइयो राष्ट्रिय झण्डा, कस्तो हुन्छ कारवाही ?

Deshdrohi

२ भदौ, काठमाडौं । युट्युवमा सोमबार सार्वजनिक भएको एउटा र्‍याप गीतमा नेपाली राष्ट्रिय झण्डा र ढाका टोपी जलाएको दृश्यको स्क्रिनसट यतिबेला सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । उक्त गीत सार्वजनिक भएसँगै राष्ट्रिय झण्डा र टोपी जलाउनेलाई कारवाही गर्नुपर्ने माग चर्को रुपमा उठेको छ ।

‘मंगोल होप अफिसियल’ नामक च्यानलबाट हिजो सार्वजनिक भएको उक्त गीतको सुरुवातमै नेपालको राष्ट्रिय झण्डा जलाएको देखाइएको छ । गीतका शब्दमा झण्डा र टोपीलाई अपमानजन शब्दहरु पनि प्रयोग भएका छन् । गीतमा झण्डालाई ‘ब्रा’ जस्तो भनेर संकेत गरिएको छ भने ढाका टोपीलाई कण्डोम भनिएको छ ।

यो भिडियो सार्वजनिक भएसँगै यस्तो कार्य गर्नेलाई कारवाही गरिनु पर्ने माग सामाजिक सञ्जालमा चर्को रुपमा उठेको छ । हरेक सामाजिक सञ्जाल प्रयोगकर्ताले गीतमा देखिएको यस प्रकारको प्रस्तुतिलाई कलाका नामममा कलंकको संज्ञा दिएका छन् भने गीतमा प्रयोग गरिएका शब्दहरूले जातियताको मुद्दालाई उजागर गरेका भन्दै यसको पनि विरोध सुरु भएको छ ।

देशको राष्ट्रिय झण्डाको अपमान गर्नेलाई कारवाहीको माग चर्किरहँदा यस्तो कसूर गर्नेलाई के–कस्तो सजाय हुन सक्छ भन्ने विषयमा पनि धेरैको चासो बढेको छ । मुलुकी अपराध संहिताले देशको अपमान गर्ने गरी राष्ट्रिय झण्डा जलाउनुलाई दण्डनीय अपराधको रुपमा व्याख्या गरेको छ । मुलुकी अपराध संहिताको दफा १५१ मा यस सम्बन्धी व्यवस्था छ ।

मुलुकी अपराध संहिताको दफा १ सय ५१ मा राष्ट्रिय ज्ञान, झण्डा वा निशान छापको अपमान गर्नेलाई तीन वर्षसम्म कैद र तीस हजारसम्मको जरिवाना हुने उल्लेख गरिएको छ। संहिताको १५१ मा भनिएको छ, ‘राष्ट्रिय गान, झण्डा वा निशान छापको अपमान वा क्षति गर्न नहुने, (१) कसैले नेपाल वा नेपाल सरकार बिरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झण्डा जलाउन, त्यसको जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा त्यस्तो गान, झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न हुँदैन ।

यसैगरि (२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख गरिएको छ । उक्त दफामा भनिए जस्तै नेपालको झण्डा जलाउने काम गीतमा भएको छ । गीतमा शब्दहरुले राष्ट्रिय झण्डाको अवमूल्यन र अपमान गरिएको छ । सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा झण्डा प्रयोग गरिएको देखिन्छ ।

भारतबाट राजा अकबरले लखेटेर नेपाल आएका शरणार्थी बाहुन क्षेत्री भन्ने शब्द प्रयोग भएको उक्त गीतमा नेपालका शीर्षस्थ व्यक्तित्वहरुको तस्वीर पनि जलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पृथ्वीनारायण शाह, पूर्व राजा ज्ञानेन्द्र शाह लगायतका व्यक्तित्वहरुको तस्वीर समेत जलाइएको छ । यसले जातीय र वर्गिय विभेदको मुद्दालाई पनि नकारात्मक ढंगबाट उजागर गरेको देखिन्छ ।

मंगोल ग्याल्ज ली एण्ड एटिम नामक र्‍यापरले तयार गरेको यो ‘र्‍याप’ कहाँबाट तयार गरेर सार्वजनिक गरिएको हो यस बारेमा भने कुनै कुरा बाहिर आएको छैन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस