समाचार

म्युजिक भिडिओमा राष्ट्रिय झण्डा जलाउने एक पक्राउ

Deshdrohi

२ भदौ, काठमाडौं । राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ बनाउने ‘क्यामेराम्यान’ पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार उनलाई काठमाडौंबाट पक्राउ गरेको स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार उनी भिडिओका ‘क्यामेराम्यान’ हुन् । यद्यपी उनको परिचय भने खुलाइएको छैन । यस भिडिओका गायक गेल्जङ दोर्जे तामाङलाई प्रहरीले खोजी गरिरहेको छ ।

अपराध महाशाखाका एसएसपी दिपक थापाले भने घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् । मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरेको छ । यदि यस्तो कसूर गरे ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ ।

मंगोल हप अफिसियल नामक युट्युब च्यानलबाट सोमबार उक्त भिडियो अपलोड गरिएको थियो ।युट्युवमा हालेलगत्तै यसमा तीव्र प्रतिक्रिया आउन थालेका थिए । अहिले सामाजिक सञ्जालमा पनि यो विषय भाइरल भएको छ । सबैले यस गीतमाथि तत्काल एक्सन लिन प्रहरीलाई आग्रह गरेका छन् ।

र्याप जनरामा गाइएको गीतको लिरिक्स र्यापर मंगोल ग्याल्ज् ली एन्ड एटीएमले लेखेका हुन् । मकवानपुर जिल्लाको बाग्मती गाउँपालिका स्थित श्री विष्णु आधारभूत विद्यालयको प्रांगणमा गीतको सुटिङ गरिएको बुझिएको छ ।

राप्रपा सांसद राजेन्द्र लिङदेनले ट्विटरमा लेखेका छन्, ‘जातीय घृणा फैलाउने र राष्ट्रिय झण्डा जलाउने कार्य कुनै पनि अर्थमा र कदापि स्वीकार्य हुँदैन । यसप्रकारको विष वृक्ष उमार्ने र मलजल गर्ने काम कसैले नगरौं ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस