
२ भदौ, सिन्धुपाल्चोक । जुगल गाउँपालिका वडा–२ लिदी लामागाउँको पहिरोमा बेपत्ता भएका ३९ मध्ये मंगलबार दिउँसोसम्म २४ जनाको शव फेला परेको छ । गएको हप्तादेखि सोमबारसम्म साबिक गाविस गोल्चेको लिदीको १३ घरका २२ जनाको शव फेला परिसकेको थियो ।
मंगलबार पहिरोले पुरिएको अवस्थामा थप २ जनाको शव फेला परेको र सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय चौताराले जनाएको छ । जिल्ला प्रहरी उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार मृत्यु हुनेमा अधिकांश बालबालिकासहित महिला र बाँकी पुरुष छन् ।
हालै भेटिएको शव ७२ वर्षीया शिरमाई दोङ र ८७ वर्षीया धनलक्ष्मी दोङको हो ।
पहिरोमा बेपत्ता १५ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा खोजी भइरहेको छ । उक्त ठाउँमा पानी पर्ने क्रम नरोकिएकाले खोजीमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस