३ भदौ, काठमाडौं । बाजुरामा बाढी र पहिरोमा परेर एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । अछामको खप्तड छेडेदह गाउँपालिकामा घर नजिकै आएको पहिरोमा परी एक बालिकाको मृत्यु भएको हो ।
खप्तड छेडेदह गाउँपालिका-५ की तीन वर्षीया सनिका बुढाको पहिरोमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटनामा पाँच वर्षीया बालिका विनिता बुढा र ६० वर्षीया आमा नन्दा बुढा घाइते भएका छन् ।
त्यस्तै बाजुरामै बढीगाढ र धुपे खोलामा आएको बाढीमा बगेर अर्की एक महिलाको मृत्यु भएको छ । जिल्लाको बुढीनन्दा गाउँपालिका ६ की ७५ वर्षीया धिनु लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक टंकराज भट्टराईले जानकारी दिए ।
उनले बाजुराका धुपे, बडीगाढ खोलामा आएको बाढीले २० घर डुबानमा परेको जनाए । क्षतिको यकिन विवरण आउन भने बाँकी रहेको उनले बताए ।