समाचार

चार दिनपछि बाढीपीडितलाई राहत

pahiro palpa

३ भदौ, सिमकोट । पहिरो गएको चार दिनपछि राहत लिएर कर्णाली प्रदेश सरकारका मन्त्रीको टोली बाजुराको कोल्टी हुँदै हुम्लाको ताजाँकोट पुगेको छ ।

लामो समयदेखि परेको अविरल वर्षाका कारण माथिबाट आएको पहिराले ताँजाकोट २ र ३ वडाका घरबारविहीन पहिरोपीडितका लागि प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र कर्णाली योजना आयोगका सदस्य दीपेन्द्र रोकायाको टोली गाउँपालिका पुगेका हुन् ।

पहिरोलगत्तै राहत सामग्री लिएर हेलिकप्टरबाट जाने तयारी गरेको प्रदेश सरकारले हेलिकोप्टरको व्यवस्था नभएपछि चार दिनपछि पहिरोपिडितलाई राहत सामग्री लिएर घटनास्थलतर्फ पुगेको वडा ४ का अध्यक्ष प्रशान्त धमलाले जानकारी दिए ।

पहिरोबाट घरबारविहीन नागरिकलाई अस्थायी बसोबास गर्ने पाल र खानेकुरा लिएर टोली आइपुगेको जनाइएको छ । गत शनिबार र आइतबार ताँजाकोट २ र ३ मा गएको पहिरामा परेर  गाउँपालिकाको कार्यालय, धर्मोदय माध्यमिक विद्यालयसहित ५४ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रसाद सुवेदीका अनुसार पहिरामा परेर ११८ घरपरिवार विस्थापित तथा १९२ घरपरिवार उच्च जोखिममा छन् । पहिराले ७५६ जना आआफ्ना घरबाट विस्थापित हुनुपरेको मैला प्रहरी चौकीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस