३ भदौ, काठमाडौं । १७ वर्षीया किशोरीलाई ‘बेचबिखन’का लागि भारत पुर्याएको आरोपमा एक जनालाई नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले पक्राउ गरेको छ । ब्युरोले नुवाकोट तादी गाउँपालिका-३ खरानिटार घर भई काठमाडौंस्थित तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली बस्ने गर्ने २२ वर्षीय अर्पण तामाङ भनिने राजु तामाङलाई पक्राउ गरेको हो ।
मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले भदौ १ गते पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिहरेको छ । साउन २९ गते पीडित बालिकाले मानव बेचबिखन ब्युरोमा दिएको जाहेरीका आधारमा प्रहरीले बालिका बेचबिखनमालाई खोजी गरिरहेको थियो ।
तामाङले बालिकालाई माया गर्ने र बिहे पनि गर्ने भनी प्रलोभन देखाई प्रेमजालमा फसाँएर शुरुमा गोंगबुस्थित फेसबुक गेष्ट हाउसमा लगी पटकपटक जबरजस्ती करणी गरेको प्रहरीले जानकारी दिएको छ ।
त्यसपछि तामाङले आफ्नो साथीको जिम्मा लगाएका थिए । उनका साथीले ती किशोरीलाई गोंगबुबाट ट्याक्सी चढाई चितवनको नारायणघाट हुँदै काकडभिट्टा सीमा नाकाबाट भारत पु¥याएको प्रहरी अनुसन्धानमा खुलेको छ । भारतमा अपरिचित पुरुषको जिम्मा लगाएर ट्याक्सी चालक फर्किएका थिए ।
भारतीय पुरुषले किशोरीलाई अश्लील भिडियो देखाई भिडियोमा जसरी नै करणी गरौं भन्ने गरेको पीडित किशोरीले प्रहरीसँग बताएकी छन् । ती किशोरीलाई भारतीयले नेपालबाट रकम तिरेर किनेर ल्याएको हो भने धम्क्याउने गरेका ती किशोरीले प्रहरीलाई बयान दिएकी छन् । त्यस्तै रोजगारीमा लगाइदिन्छु भन्दै भारतका विभिन्न ठाँउमा लाने गरेको पीडित किशोरीले बताएकी छन् ।
आफूमाथि शोषण भएपछि उनी भागेर एक नेपालीको सम्पर्कमा पुगेकी थिइन् । ती नेपाली पुरुषले उनलाई गत वर्ष असोजमा कैलालीको टिकापुरस्थित ईलाका प्रहरी कार्यालयमा बुझाएका थिए । पीडितलाई केही समय एउटा संस्थामा राखेपछि उनलाई परिवारको जिम्मा लगाइएको थियो ।
पक्राउ परेका तामाङलाई प्रहरीले मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार मुद्दा दर्ता गरेको छ । काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याथ थप गरेर अनुसन्धान गरिरहेको ब्युरोका प्रवक्ता एसपी प्रभुप्रसाद ढकालले बताए ।