
४ भदौ, काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा सन्दीप लामिछाने रहेको जमैका तलावाजले विजयी सुरुवात गरेको छ । ब्रायन लारा क्रिकेट स्टेडियममा बुधबार राति भएको खेलमा सेन्ट लुसिया जोउक्सलाई ५ विकेटले पराजित गर्दै जमैकाले सुखद सुरुवात गरेको हो ।
सेन्ट लुसियाले दिएको १५९ रनको लक्ष्य जमैकाले १८ ओभर ५ बलमा पाँच विकेट गुमाएर पूरा गर्यो । उसका आसिफ अलीले अविजित ४७ र ग्लेन फ्लिप्सले ४४ रन जोडे । २७ बलको सामना गरेका अलीले ५ चौका र २ छक्कको मदतमा अविजित ४७ रन जोडेका हुन । त्यस्तै २९ बलको सामना गरेका फ्लिप्सले समान ३ चौका र छक्काको मदतमा ४४ रन जोडे ।
रोभम्यान पावेलले २६ र आन्द्रे रसेलले १६ रन जोडे । बलिङमा सेन्ट लुसियाका केसरिक विलियम्सले दुई विकेट लिदा रहकीम कर्नवाल, ओबेद म्याकोय र स्कट कुग्लीङ्जनले समान एक–एक विकेट लिए ।
यसअघि ब्रायन लारा क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट लुसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५८ रन जोडेको थियो । उसको लागि रोस्टन चेसले अर्धशतक प्रहार गर्दै ५२ रन जोडे । ४२ बलको सामना गरेका उनले ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै नजिबुल्लाह जद्रानले २५ र आन्द्रे फ्लेचरले २२ रन जोडे ।
बलिङमा जमैकाका मुजिब उर रहमान र भिरास्वामी परमौलले समान दुई–दई विकेट लिए । त्यस्तै आन्द्रे रुसेल र सन्दीप लामिछानेले एक–एक विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले २३ रन खर्चेर एक विकेट लिएका हुन् ।
जितसँगै जमैकाले १ खेलमा २ अंक जोडेको छ । जमैका तालिकाको शीर्ष स्थानमा रहेको छ । जमैकाले अब ट्रीनबागो नाइट राईडर्ससँग खेल्नेछ ।