
४ भदौ, काठमाडौं । बैंकका कर्मचारीलाई प्रशासन र प्रहरीले बाटैमा रोकेर कार्यालय जान अवरोध गरेपछि बिहीबार उपत्यकामा बैंक तथा वित्तीय संस्थाहरु बन्द भएका छन् । कर्मचारीहरु कार्यालय जान नपाएपछि नेपाल बैंकर्स संघले उपत्यकाका सबै शाखाहरु बन्द गर्न आह्वान गरेको छ ।
बुधबारबाट सुरु भएको निषेधाज्ञामा पनि अत्यावश्यकीय सेवाभित्र पर्ने बैंक तथा वित्तीय संस्था सीमित खोल्न दिने मंगलबार साँझ स्थानीय प्रशासन, राष्ट्र बैंक र बैंकहरुबीच सहमति भएको थियो ।
त्यसविपरीत स्थानीय प्रशासनको निर्देशनमा प्रहरीले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई बाटैमा रोकेका छन् । कतिपय बैंकका प्रमुख कार्यकारी अधिकृतहरु पनि बाटैमा रोकिएको बैंकर्सहरु बताउँछन् ।
नेपाल बैंकर्स संघका अध्यक्ष दाहालले भने, ‘हिजो सीडीओसँग समन्वय गरी हरेक बैंकका काठमाडौंमा पाँच वटा, भक्तपुरमा १ वटा र ललितपुरमा २ वटा गरी आठ वटा शाखा खोल्ने सहमति भएको थियो । बैंकका कर्मचारीलाई बैंककै परिचयपत्र देखाएर आवत-जावत गर्न दिने भनिएको थियो तर बिहान बैंक खोल्न जान लागेकाहरुलाई पनि रोकियो ।’
ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले भने आफूहरुले माथिको आदेश बमोजिम काम गरिरहेको बताए । बैंकका सीईओलगायतको गुनासो आएपछि सहजीकरण गरिरहेको पनि उनले जानकारी दिए । एसएसपी ढकाले भने, ‘हामीले आदेश बमोजिम गर्ने हो । अस्पष्ट भएका केही विषयमा भए माथिल्लो निकायमा समन्वय गर्छौं ।’