समाचार

प्रदेश नं २ मा मात्र कोरोनाबाट ५२ जनाको मृत्यु

covid 19 dead

५ भदौ, जनकपुरधाम । मुलुकमै कोरोनाको प्रकोपबाट सबैभन्दा बढी प्रदेश नं २ प्रभावित भएको छ। यस प्रदेशमा अहिलेसम्ममा आठ हजारभन्दा बढी सङ्क्रमित हुनुका साथै ५२ जनाको कोरोनाको संक्रमणको कारण मृत्यु भएको छ।

यस प्रदेशअन्तर्गतका आठवटै जिल्ला कोरोनाको संक्रमणको चपेटामा परेको छ। सोमध्ये सबैभन्दा बढी पर्सा जिल्ला मारमा परेको देखिएको छ। सो जिल्ला कोरोनाबाट २५ जनाको ज्यान गइसेकेको छ भने दोस्रो धनुषा जिल्लामा नौ जनाको मृत्यु भएको छ। त्यस्तै, बारामा ६, सप्तरीमा चार, रौतहटबाट तीन, महोत्तरी र सिरहाबाट दुई÷दुई र सर्लाही जिल्लामा एकको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

बिहीबार अपराह्नसम्म यस प्रदेशमा कोरोना संक्रमितको संख्या आठ हजार ६३ पुगेको छ। सोमध्ये तीन हजार ९८४ जना उपचार गराई घर फर्केका छन् भने तीन हजार ८९५ जनाको उपचार भइरहेको छ। प्रदेशमा स्वाबको नमूना संकलन कार्य तीव्र रुपमा भइरहेको छ। अहिलेसम्म ८५ हजार ७६४ को स्वाबको नमूना संकलन गरिएको छ। संकलित स्वाबमध्ये ७२ हजार ७८९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने चार हजार ९१२ जनाको रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ।

भारतबाट आउने वा सशंकित व्यक्तिका लागि यस प्रदेशमा निर्माण गरिएको २१७ वटा क्वारेन्टाइनमा १३ हजार ७४८ वटा शय्याको व्यवस्था गरिएको छ। ती क्वारेन्टाइनमा एक हजार ३२७ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने होम क्वारेन्टाइनमा दुई हजार १८८, आइसोलेशनमा ४६१ र होम आइसोलेशनमा ७६२ जना बसेका छन्।

यस प्रदेशको आठवटै जिल्लाको सिमाना भारतसँग जोडिएको छ। भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ। सिमानामा आवतजावतमा रोक लगाइएको भएपनि लुकिछिपी भित्रिने व्यक्तिमध्ये कतिपय कोरोनाबाट संक्रमित पाइएका छन्। त्यस्ता व्यक्तिहरु परिवारमा घुलमिल गरेर बसेपछि कोरोनाको संक्रमण ह्वात्तै बढेको देखिएको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस