समाचार

कोरोना संक्रमित बढेपछि चितवनमा पुनः निषेधाज्ञा थप

chitan narayangarh

५ भदौ, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा थप एक साताका लागि निषेधाज्ञा थप गरेको छ ।

जिल्ला प्रशासनमा आज बसेको विपत् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि जिल्लाका माडी नगरपालिका बाहेक ६ स्थानीय तहमा मात्र निषेधाज्ञा जारी गरिएको थियो । साउन ३० गते पहिलोपटक गरिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै थियो ।

बैठकले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि र यसको जोखिम न्यूनीकरण र रोकथामका लागि एकसाता थप गरेको बताएको छ । जसअनुसार आज मध्यरातिदेखि भदौ १२ गतेसम्मका लागि निषेधाज्ञा लम्बिएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।

प्रशासनले नागरिकलाई अत्यावश्यक काम बाहेक हिंड्डुल गर्न रोक लगाउंँदै आएको छ । अत्यावश्यक खाद्य सामाग्री खरीदको लागि नागरिकले बिहान ५ देखि ८ बजेसम्म र बेलुका ५ देखि ८ बजेको समय तोकिएको छ ।

जिल्लामा हालसम्म  कोरोना संक्रमित ३०३ पुगेका छन् । जसमा महानगरमा १६८, राप्ती नगरपालिका ६५, खैरहनी नगरपालिका १२, कालिका नगरपालिका ५, रत्ननगर नगरपालिका ११, माडी नगरपालिका ४१ र ईच्छाकामना गाउँपालिकामा १ जनामा कोरोना संक्रमण देखिएको छ । ती  मध्ये जिल्लाका तीन जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस