
६ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) द्वारा पार्टी विवाद समाधानका लागि गठन गरेको ६ सदस्यीय कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार कार्यदलले शनिबार अपराह्न ४ः४५ बजे अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको हो ।
शनिबार झण्डै आठ घण्टा बैठक बसेर अन्तिम रुप दिइएको प्रतिवेदन कार्यदलले शनिवारनै अध्यक्षद्वयलाई बालुवाटारमा हस्तान्तरण गरेका हुन् । नेकपाभित्रको विवाद समाधानका लागि पार्टीका महासचिव विष्णु पौडेलको संयोजकत्वमा गत साउन ३० गते ६ सदस्यीय कार्यदल गठन गरेको थियो ।
उक्त कार्यदलले नेकपाभित्रको विवाद समाधानको लागि मूख्य भूमिका खेल्नेछ । कार्यदलमा संयोजक पौडेलसहित सदस्यहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल गरी छ जनालाई जिम्मेवारी तोकिएको हो ।