स्वास्थ्य

निषेधाज्ञामा पनि रोकिएन रक्तदान, रगत अभाव हुन नदिन जुटे चितवनका युवा

blood donation

९ भदौ, चिवतन । जिल्लामा कोभिड–१९ का कारण रगतको अभाव भएपछि नेपाली युवा उद्यमी मञ्च चितवनले टोलटोलमा मोबाइल क्याम्प खडा गरी हिजोदेखि रक्तदान अभियान शुरू गरेको छ । मञ्चले पहिलो दिन दुई स्थानमा ३० युनिट रगत सङ्कलन गरेको छ ।

मञ्चका सदस्य अर्जुन रानाभाटका अनुसार पहिलो दिन भरतपुर महानगरपालिका–४ को लङ्कुक्षेत्रको अद्वैतचोक र धर्मचोकमा १५/१५ युनिट रगत सङ्कलन भएको छ । अभियानलाई निरन्तरता दिइने उनले बताए ।

मञ्चका अध्यक्ष कृष्णप्रसाद सापकोटाका अनुसार यस अभियानमा एक स्थानमा १५ देखि २० जनाको मात्र रगत सङ्कलन गरिने छ । हाल जिल्लामा निषेधाज्ञा जारी छ । नेपाल सरकारको सङ्क्रमण ऐनभित्र रही सम्पूर्ण कार्य गरिने उनले बताए ।

मञ्चले चितवन र छिमेकी जिल्लाका आ–आफ्नो टोलमा संयोजक गरी मिति, समय र टोलको नाम टिपाउन अनुरोध गरेको छ । सापकोटाले भने, “यसमा हामी सबैको सहभागिता आ–आफ्नो टोलमा मात्रै रहने छ ।” अभियानअन्तर्गत आज गैँडाकोटमा रक्तदान कार्यक्रम गरिँदैछ । यसअघि लकडाउनको समयमा मञ्चले बटुवा र अस्पतालमा रहेकालाई खाना खुवाएको थियो । अहिले जिल्लामा रगतको चरम अभाव भएपछि रक्तदान अभियान शुरू गरिएको हो ।

रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले कोरोना त्रास र जोखिमका कारण रक्तदाताहरू रगत दिन डराएको बताए । यसअघि दैनिक ६० पोकासम्म रगत सङ्कलन हुँदै आए पनि निषेधाज्ञापछि रगत सङ्कलन हुन छाडेको छ । अहिले आकस्मिक बिरामीका लागि पनि रगत पाउने अवस्था नभएको उनले बताए । पौडेलका अनुसार जिल्लाका अस्पतालमा दैनिक औसत १५० युनिट रगत आवश्यक पर्छ ।

कार्यालयले यसअघि चितवनसँगै नवलपुर, बारा, सर्लाही, रौतहट, मकवानपुरलगायतका जिल्लाबाट रगत सङ्कलन गरेर ल्याउने गर्दथ्यो । अहिले ती जिल्लामा रक्तदान कार्यक्रम भएका छैनन् । रगतको अभावका कारण सुत्केरी र क्यान्सरका बिरामी बढी प्रभावित भएका छन् । बाहिरी जिल्लाबाट आएका बिरामीका आफन्तले यहाँ रक्तदाता जुटाउन मुस्किल पर्ने गरेको छ। कोरोना त्रासका कारण विगतमा रक्तदान गर्नेहरूसमेत अहिले डराएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस