१० भदौ, पोखरा । गण्डकी प्रदेशमा बुधबार बिहान थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका ३ जिल्लाका २२ पुरुष र १ महिलामा सक्रमण पुष्टि भएको हो ।
संक्रमित हुेनमा १७ जना नेपाली सेनाका अधिकारीहरू छन् भने एक जना, लम्जुङ बेशींशहर–८, का ३२ बर्षीय पुरुष ग्लोबल आईएमई बैंकका कर्मचारी हुन् । सेनाका अधिकारी पनि लम्जुङमै कार्यरत छन् । जम्जुङकै अर्का एकजनामा पनि संक्रमण पुष्टि भएको छ । नवलपरासी गैंडाकोटका एक, कास्कीको पोखरा महानगरपालिका–११ का एक र मादी गाउँपालिका–७ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका–११ का संक्रमित साई अर्चना अस्पतालमा कार्यरत छन् भने मादी गाउँपालिकाका संक्रमित दुबईबाट फर्किएका हुन् । बाँकी संक्रमित कन्ट्याक ट्रेसिङको माध्यमबाट पहिचान भएका स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले बताएका छन् । उनका अुनसार सबै संक्रमित व्यक्तिलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९३६ पुगेको छ । प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ६४३ रहेको छ ।