समाचार

काठ चोरीमा संलग्न दुई जना पक्राउ

arrest

१० भदौ, महोत्तरी । डिभिजन वन कार्यालय महोत्तरीले खोजी अभियानअन्तर्गत ५८ दशमलव १४ घन फिट चोरीका काठ बरामद गर्नुका साथै दुई जनालाई पक्राउ गरेको छ ।

बर्दिवास नगरपालिका–१ स्थित दर्ता नभएको एक फर्निचर उद्योग र बर्दिवास–३ गौरीडाँडास्थित ग्रिल उद्योगका नाउँमा सञ्चालन गरिएको कारखानाबाट सो परिमाणको साखुका चिरान काठ हिजो बरामद गरिएको डिभिजन प्रमुख हेमन्तप्रसाद साहले बताए ।

बर्दिवास–१ मा गोपाल फर्निचरको साइनबोर्ड राखिएको फर्निचर उद्योगमा खानतलासी गर्दा ४८ थान कडी, सातवटा झ्याल र पाँचवटा ढोकाका तयार चौखट (पल्ला)सहित २७ दशमलव १३ घनफिट साखुका चिरान गरिएका काठसहित दुई जनालाई पक्राउ गरिएको छ । फर्निचरका सञ्चालक सोमबहादुर बलम्पाकी र कामदार भीमबहादुर पूर्वछाने पक्राउ परेको डिभिजन प्रमुख साहले जानकारी बताए ।

त्यसैगरी बर्दिवास–३ गौरीडाँडामा बिपी राजमार्गको छेउमै ग्रिल उद्योगको बोर्ड राखेर सञ्चालित कारखानाबाट ३४ थान कडी, १४ थान झ्याल र चार थान ढोकाका चौखटसहित ३१ दशमलव एक घनफिट साखुकै चिरान काठ बरामद गरिएको छ ।

कारखाना सञ्चालक रामजी रम्तेल र मीनबहादुर भुजेल भागेका हुँदा पक्राउ गर्न नसकिएको कार्यालयले जनाएको छ । दुवै ठाउँबाट काठ चिरान गर्न प्रयोग गरिने दुई थान आरा, बसिला र रन्दासहित साना–ठूला गरी ९४ थान चिरान काठ बरामद गरिएको डिभिजन प्रमुख साहले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस