
११ भदौ, काठमाडौं । निजी अस्पतालले पनि लक्षण भएका संक्रमित बिरामीलाई आइसोलेसनमा भर्ना लिन थालेका छन् । ह्याम्स, ग्रान्डी, यति, बयोधा र मेघा अस्पतालले संक्रमितको उपचार थालेका हुन् ।
ह्याम्स र ग्रान्डीले संक्रमितको उपचार सुरु गरे पनि खर्च संक्रमितकै हुन्छ । यति, बयोधा र मेघाले भने सरकारसँग शुल्क लिने गरी उपचार सुरु गरेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । ‘अब यी अस्पतालमा उपचार गर्दा पनि संक्रमितले शुल्क तिर्नुपर्दैन,’ उनले भने ।
यसअघि निजीमा भर्ना भएका बिरामीमा कोरोना देखिनेबित्तिकै सरकारी अस्पतालको आइसोलेसनमा पठाउने गरेको थियो । अब निजीले पनि २० प्रतिशत शय्या कोरोना संक्रमितको उपचार गर्न छुट्याउनुपर्ने मन्त्रालयको निर्णय छ ।
काठमाडौं मेडिकल कलेजले सुरुदेखि नै संक्रमितको उपचार गरिरहेको छ । यहाँ उपचार गरेबापत शुल्क तिर्नुपरेको छैन । नेपाल मेडिकल कलेजले पनि संक्रमितको उपचार गर्ने जानकारी गराइसकेको छ । सामान्य अवस्थाका संक्रमितको उपचार गरेबापत दैनिक ३ हजार ५ सय, मध्यम जटिल खालको भए ७ हजार, जटिल खालेको भए सात हजार र जटिल तथा क्रिटिकल अवस्थाको भए १५ हजार रुपैयाँसम्म सरकारले उपलब्ध गराउनेछ ।
मन्त्रालयका अनुसार संक्रमित आफैंले शुल्क तिरेर ह्याम्स र ग्रान्डीमा पनि उपचार गरिरहेका छन् । ह्याम्समा आईसीयूमा १० र भेन्टिलेटरमा एक सहित ३० जना उपचाररत छन् । त्यस्तै ग्रान्डीमा ३ जना भेन्टिलेटरमा समेत ११ जना संक्रमितकै खर्चमा उपचार भइरहेको छ । काभ्रेपलाञ्चोकको धुलिखेल, शिरमेमोरियलसहित उपत्यकाका अस्पताल र आइसोलेसन सेन्टरमा १ हजार २६ जना संक्रमित छन् ।
आईसीयूमा मात्रै ६० जना र भेन्टिलेटरमा ११ जना छन् । नेपाल प्रहरी अस्पतालमा सबैभन्दा बढी २ सय १२ जना संक्रमितको उपचार भइरहेको छ । त्यसपछि मनमोहन मेमोरियल हस्पिटलको दहचोकमा १ सय ४९ जना, बलम्बुको सशस्त्र प्रहरी अस्पतालमा १ सय ३७ जना छन् ।
सशस्त्र प्रहरी अस्पतालमा आईसीयूमा मात्रै १२ जना र भेन्टिलेटरमा १ जना छन् । शिक्षण अस्पताल महाराजगन्जमा ७५, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ४३, पाटन अस्पतालमा ९५ जना, कीर्तिपुर आयुर्वेद अस्पतालमा ९७ जना, केएमसी दुवाकोटमा ४४, वीरेन्द्र सैनिक अस्पतालमा ४१ जना संक्रमित उपचाररत छन् । कान्तिपुर दैनिकमा खबर छ ।