
१२ भदौ, चितवन । सामाजिक सञ्जालमार्फत उपहारको प्रलोभन देखाएर ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँको भिमाद–५ का ४० वर्षीया राजकुमार थापा मगर, चितवनको खैरहनी–१२ सिसाहनीका २८ वर्षीय शिवराज पाठक र धादिङको धुनीबेसी–२ घर भइ हाल मकवानपुको हेटौंडा उपमहानगरपालिका–४ बस्ने सत्कार लुँईटेल रहेका छन् ।
भरतपुर महानगरपालिका–२० शारदानगर बस्ने आरती रानाले राजकुमार थापासहितको टोलिले इन्स्टाग्राम र ह्वाटसएपको प्रयोग गरी उपहार पठाइदिन्छु भन्दै २ लाख ५३ हजार २ सय ४० रुपैयाँ ठगी गरेको भनी दिएको जाहेरीमा अनुसन्धान गर्दा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरुबाट प्रेमबहादुर राना, सन्जना पाठकको नामको यातायात व्यवस्था कार्यालय गण्डकीको नक्कली सवारी चालक अनुमति पत्र बरामद गरिएको प्रहरीले जनाएको छ । सो परिचय पत्रका आधारमा रकम निकाली उक्त रकम सत्कार लुँईटेल, रामकुमार तामाङ, निशाकुसुम भट्टराई, लोकप्रसाद भूर्तेल, मञ्ज केसी र तोजबहादुर केसीको खातामा पठाउने गरेको पाईएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई जिल्ला अदालत चितवनमा ठगी र लिखतसम्बन्धि कसुरमा मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए । उनीहरुले इन्स्ट्राग्राममा विदेशीको फोटो राखी नक्कली खाता खोलि महिलालाई साथी बनाई ईटाली, अमेरिका, अष्ट्रेलिया, सिंगापुर, फ्रान्सजस्ता देशबाट बोलेको भनि उपहार पठाईदिने भनि पठाउँदा लाग्ने खर्च मागेर ठगी गरेको प्रहरीले जनाएको छ ।
यस्तै सोही मुद्दामा अन्य छ जना फरार रहेको र खोजीकार्य जारी रहेको गुरुङले बताए ।