
१२ भदौ, चितवन । चितवनमा शुक्रबार कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । भरतपुरको पुष्पाञ्जली हस्पिटलमा एक पुरुष र चितवन मेडिकल कलेजमा एक महिला गरी दुई जनाको मृत्यु भएको हो ।
भरतपुरको श्री पुष्पाञ्जली अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका २, क्षेत्रपुरका ५१ वर्षीय पुरुषको आज बिहान १० बजे मृत्यु भएको हो । अस्पतालले आज एक विज्ञप्ति जारी यसबारे पुष्टि गरेको हो ।
अस्पतालका अनुसार उनी भदौ ५ गते श्वासप्रश्वास समस्या भई अस्पतालमा भर्ना भएका थिए । सो क्रममा उनको स्वाब परीक्षणका लागि पठाइएकामा भदौ ८ गते उनमा कोरोना पोजेटिभ देखिएको थियो ।
यसैगरी चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा उपमहानगरपालिका १९ की ७१ वर्षीया महिलाको बिहान ६ बजेर ५० मिनेट जाँदा मृत्यु भएको हो । अस्पतालले प्रेस विज्ञप्ति जारी गरी उनको मृत्यु भएको पुष्टि गरेको छ ।
अस्पतालका अनुसार निमोनियाँ र दमको बिरामी ती महिलालाई यही भदौ ७ गते बिहान साढे ९ बजेको समयमा श्वासप्रश्वासको समस्या भई जटिल अवस्थामा चितवन मेडिकल कलेज ल्याइएको थियो । सोही बेला कोरोना परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको थियो ।
योसँगै आज मात्रै चितवनमा दुईजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।