
१२ भदौ, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) एक सहयोगीमा कोरोना भाइरसको संक्रमण देखिएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रधानसेनापछि पूर्णचन्द्र थापा होम आइसोलेसनमा बसेका छन् । यस्तै सचिव महेन्द्र गुरागाई पनि होम आइसोलेसनमा छन् ।
मन्त्रीहरुसहित प्रधानसेनापति, सचिव र अन्य कर्मचारीहरुको पनि पीसीआर परीक्षण गरिएको छ । तर नतिजा भने आउन बाँकी रहेको छ । परीक्षणको नतिजा नआएसम्म उनीहरु होम आइसोलेसनमा बस्ने सीसीएमसी स्रोतले बताएको छ । सत्तारुढ दल नेकपाका सचिवालय सदस्य समेत रहेका पोखरेल र थापा आइसोलेसनमा बसेसँगै नेकपाको शनिबार बस्ने भनिएको सचिवालय बैठक पनि स्थगित भएको छ ।
सीसीएमसी सचिवालयका संयोजक तथा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईका अनुसार एकजना सैनिक कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । कपाल काट्न जाँदा संक्रमण भएको हुनसक्ने उनले जानकारी दिएको गुरागाईले बताए । सीसीएमसी सचिवालय भने सिल गरिएको छैन ।