
१२ भदौ, बाँके । ससुरालीमा जग्गा खरिदका लागि राखिएको नगद हात पार्न बाँकेमा आफ्नै सहोदर सालो अपहरण गरेर १० लाख रुपैयाँ फिरौती माग्ने एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ भने अपहरणको ३ दिनपछि बालकको सकुशल उद्दार गरेको छ ।
गएकाे भदौ ९ गते बाँकेको खजुरा गाउँपालिका ५ उढरापुरको रजनवा गाउँमा मोहरमको रमाइलो हेर्न पुगेका १३ वर्षीय इसहार जाकिर भन्ने इन्तजार खाँ अपहरणमा परेका हुन् । उनलाई उनका भिनाजु नेपालगञ्ज उपमहानगरपालिका १६ जयसपुरका २७ वर्षीय कल्लु भन्ने कलिम खाँले अपहरण गरी नेपालगञ्जमा रहेकाे आफ्नाे घरमा बन्धक बनाइ १० लाख रुपैयाँ फिरौती रकम माग गरेको प्रहरीले जनाएको छ ।
जग्गा खरिदका लागि ससुराले चार लाख ८५ हजार रुपैयाँ नगद घरमा राखेको अभियुक्त कल्लुले थाहा पाएपछि सालाको अपहरण गरेका हुन् । अपहरणपछि बालकलाई दुई दिनसम्म जयसपुरकाे घरमै राखेको र पछि अरुले थाहा पाएको र प्रहरीले खोजी गर्दै जाँदा भदौ ११ गते जानकी गाउँपालिका ५ बुढियागाउँमा बालकलाई फुपूको घरमा छोडिएको प्रहरीले जनाएको छ ।
प्रहरीले अभियुक्त खाँबाट अपहरण गर्न प्रयोग भएको भे ४ प २३४४ नम्बरको सुजुकी कम्पनीको मोटरसाइकल एउटा र फिरौती माग्न प्रयोग भएको मोबाइल एक थान बरामद गरेको जनाएको छ ।