१३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली डा युवराज खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिने पक्षमा देखिएका छन् ।
शनिबार राति पत्रकार ऋषि धमलासँगको विशेष अन्तर्वार्तामा ओलीले खतिवडाले राम्रो काम गरेको भन्दै उनलाई नै निरन्तरता दिने संकेत गरेका हुन् । ओलीले खतिवडाबारे २–४ दिनमा निर्णय हुने भन्दै उनले राम्रो काम गरिरहेको स्पस्ट पारे । उनले भने, ‘२–४ दिन हेरौँ न, २० गते त आउन लागिहाल्यो । अहिले भविष्यबाणी गर्नु त्यति उचित हुँदैन ।’
अर्थमन्त्री खतिवडाले राम्रो काम गर्नुभएको छ भन्ने प्रश्नमा ओलीले भने, ‘राम्रो काम गर्नुभएको छ !’ उहाँको कार्यशैलीलाई लिएर बाहिर असन्तुष्टिहरु पनि बाहिर आइरहेको छ नि भन्ने धमलाको प्रतिप्रश्नमा उनले भने, ‘कार्यशैली त कसको कसलाई मन पर्दैन त्यो कसरी भन्न सकिन्छ र ! केहीले मन पराउँछन् कसैले मन पराउँदैनन्, कसैलाई बेसी पनि मनपर्छ । सत्य जे हो, त्यही अनुसार चल्नुपर्छ ।’
युवराज खतिवडाले भन्दा अर्को अर्थमन्त्रीले राम्रो गर्ला भन्ने आफूलाई लागेमा फेर्न सक्ने भएपनि अहिलेसम्म उनको कार्यसम्पादन सन्तोषजनक भएको ओलीले बताए ।